जलेश्वर। महोत्तरीको औरही नगरपालिका–७ स्थित इँटाभट्टा नजिक एक व्यक्ति शंकास्पद मृत्यु भएको अवस्थामा शव फेला परेको छ।
औरही नगरपालिका–७ स्थित एमटीएल इँटाभट्टामा रहेको परालको छाप्रोभित्र स्थानीय ५२ वर्षीय इन्द्रदेव झाको शंकास्पद मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
फेला परेको शवको प्रकृतिले झाको हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका छ। सोमबार साँझ घरबाट निस्केका झाको शव मंगलबार फेला परेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।
मृतक झा धैरै पहिल्यैदेखि सोही इँटाभट्टामा बस्दै आएका थिए। बायाँ एउटा आँखा फुटेको र घटना स्थलको प्रकृति हेर्दा कसैले हत्या गरेर शव त्यहाँ राखेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।