काठमाडौं। राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टार्सले फराकिलो जित हात पारेको छ।
बुधबार भएको पहिलो खेलमा उसले काठमाडौं नाइट्सविरुद्ध १ सय २ रनको जित हात पारेको हो। योसँगै लुम्बिनीले क्वालिफायरमा स्थान पक्का गरेको छ।
काठमाडौंको यो चौथो हार हो। आफ्नो आठौँ खेलमा लुम्बिनीले दिएको १ सय ८४ रनको लक्ष्य पछयाएको काठमाडौंले १५.४ ओभरमा सबै विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो। उसका लागि बसिर अहमदले २२, कमल सिंह ऐरीले १६, कप्तान ज्ञानेन्द्र मल्ल, लोकेश बमले १५/१५ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।
लुम्बिनीका लागि कुशल भुर्तेलले उत्कृष्ट बलिङ गर्ने क्रममा ३ ओभरमा एक मेडन फाल्दै १३ रन मात्र खर्चेर २ विकेट लिए। त्यस्तै, ह्यारी टेक्टर, इशान पाण्डेले दुई/दुई विकेट हात पारे। किशोर महतो, बिपुल शर्मा र हरमित सिंहले एक÷एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनायो।
टसमा ढिलाइ भएका कारण १७ ओभरमा झारिएको खेलमा हरमित सिंहले ७०, लाहिरु मिलन्थाले २६, गुलसन झाले २१, ह्यारी टेक्टरले १७ कुशल भुर्तेलले १५ रनको योगदान दिए।
काठमाडौंका लागि बलिङमा अविनाश बोहराले सर्वाधिक तीन, बसिर अहमदले दुई र अनिल खरेलले एक विकेट लिए।
काठमाडौंमाथि जित निकाल्दै लुम्बिनी १६ अंकका साथ तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ। उसले ९ खेल खेल्दा ८ मा जित र एक खेलमा मात्र हार बेहोरेको छ। त्यस्तै, आजको हारसँगै काठमाडौं ८ अंकसहित तालिकामा तेस्रो स्थानमा कायमै रहेको छ।