काठमाडौं। विराटनगर सुपर किंग्सले काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगमा तेस्रो जित निकालेको छ।
तेस्रो जित निकाल्ने क्रममा उसले बुधबार फार वेस्ट युनाइटेडलाई ६ विकेटले हरायो। फार वेस्ट युनाइटेडले दिएको १५७ रनको लक्ष्य विराटनगरले १९.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।
उसका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६०, प्रदीप ऐरीले ४०, हुसेन तलतले २१, पृथु बाँस्कोटाले अविजित १७ र गौरांशु शर्माले ११ रन जोडे। फार वेस्ट युनाइटेडका हसमतुल्लाह शाहिदी, करण केसी, नूर अहमद र प्रकाश जैसीले एक/एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको फार वेस्ट युनाइटेडले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५६ रन बनायो। उसका लागि विनोद भण्डारीले ४५, कप्तान हशमतुल्लाह शाहिदीले २७, करण केसीले अविजित २१, उमेर अलीले १६ र मिलिन्दा सिरिवर्धनले १४ रन बनाए।
विराटनगर सुपर किंग्सका लागि शाहब आलमले तीन, केओन जोसेफले दुई, विवेक यादव, रोहितकुमार पौडेल र राज नाननले एक/एक विकेट लिए।
यो जित पनि विराटनगर अंक तालिकाको पाँचौं स्थानमै रहेको छ। नेट रनरेटका खराब भएका कारण ऊ पाँचौं स्थानमै रोकिएको हो । विराटनगरले आठ म्याच खेल्दा तीनमा जित र पाँच खेलमा हारको सामना गरेको छ।
पुछारमा रहेको फार वेस्टले भने सात म्याच खेल्दा एक म्याचमा मात्र जित हात पारेको छ।