काठमाडौं। राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगमा जनकपुर रोयल्सले पोखरा एभेन्जर्सलाई ६ हराएको छ।
पोखराले दिएको ६९ रनको लक्ष्य जनकुपरले ९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। उसका लागि ओपनिङ ब्याटर शराफुद्दीन अशरफले ३७ र कप्तान ट्रेभोन ग्रिफिथले १७ रनको योगदान दिए।
पोखराका लागि कुशल मल्लले तीन ओभरमा १० रन खर्चिएर सर्वाधिक तीन विकेट लिए। त्यस्तै, असिथा फर्नान्डोले एक विकेट हात पारे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा १२ ओभरमै अलआउट हुँदै ६८ रन बनायो।
उसका लागि सिद्धान्त लोहनीले १७, आसिफ शेख र कुशल मल्लले १६–१६ रन जोडे। बाँकी आठ ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
पोखरालाई सस्तैमा समेट्ने क्रममा जनकपुरमा आवद्ध तीव्र गतिका बलर सोमपाल कामीले २ ओभरमा आठ रन दिएर तीन विकेट लिए। त्यस्तै, ललितनारायाण राजवंशी, शराफुद्दिन असरफले दुई÷दुई, पवन सर्राफ, जितेन्द्र मुखिया र ड्रेभन ग्रिफ्थले एक–एक विकेट हात पारे।
आजको जितसँगै जनकपुर प्लेअफमा पुगेको छ। यसअघि लुम्बिनी प्लेअफमा पुगिसकेको छ।
अंकतालिका
जनकपुर १२ अंकका साथ तालिकाको दोस्रो स्थानमा कायमै रहेको छ। उसले जारी प्रतियोगितामा ९ खेल खेल्दा तीनमा हार छ मा जित निकालेको छ।
त्यस्तै, यो हारसँगै पोखरा ६ अंकसहित तालिकाको पाँचौ स्थानमा खस्किएको छ। उसले जारी सिजनमा ९ खेलमा छ मा हार र तीनमा खेलमा जित हात पारेको छ।
आज नै हुने दोस्रो खेलमा काठमाडौं नाईट्स र फार वेस्ट युनाईटेडबीच खेल हुँदैछ। खेल दिउसो १ बजे बाट सुरु हुनेछ।