काठमाडौं। नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि आज उच्च अदालत पाटनमा तोकिएको सुनुवाइ स्थगित भएको छ।
जबरजस्ती करणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उनले दिएको निवेदनमा सुनुवाइ हुन लागेको थियो।
आज न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासमा पेसी तोकिएको थियो। तर, लामिछानेका कानुन व्यवसायीबाट नै पेसी स्थगित गरिएको हो।
गएको कात्तिक १८ गते उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा नाबालिगलाई बलात्कार गरेको अभियोगमा मुद्दा चलिरहेको छ।
यसअघि दुई पटक पेसी तोकिएको थियो। एकपटक लामिछानेकै कानुन व्यवसायीको तर्फबाट पेसी स्थगित गरिएको थियो भने दोस्रो पटक भने इजलासको समय अभावका कारण सुनुवाइ हुन सकेको थिएन।
तर, आज भने उनको पेसी चौथो नम्बरमा परेका कारण सुनुवाइ हुने सम्भावना थियो। सन्दीपकै वकिलले किन दुई पटक सुनुवाइ स्थगित गरे त ? स्रोतका अनुसार थप प्रमाण संकलनका लागि सन्दीपकै वकिलले मुद्दाको सुनुवाइ स्थगित गरेका हुन्।
लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा नाबालिगलाई बलात्कार गरेको अभियोगमा मुद्दा चलिरहेको छ। उनलाई कत्तिक १८ गते जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। दुई पटकभन्दा बढी कानुन व्यवसायीबाट नै पेसी स्थगित गर्न पाइँदैन।
हाल केन्द्रीय कारागारमा रहेका सन्दीपको न्यायका लागि सर्वसाधरण तथा क्रिकेटरहरुले आवाज उठाउँदै आएका छन्।
एक किशोरीले बलात्कारको उजुरी दिएपछि २० असोजमा सन्दीप पक्राउ परेका थिए।