काठमाडौं। नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्सले रोमाञ्चक जित निकालेको छ।
उसले फार वेस्ट युनाइटेडलाई ३ रनले पारजित गर्दै रोमाञ्चक जित निकालेको हो। फार वेस्टलाई जितका लागि अन्तिम बलमा चार रन चाहिएको थियो। तर सो बलमा एक रन पनि बनेन र नन्दन यादवले विराटनगरलाई खेलाड जिताए।
विराटनगरले दिएको १ सय ४८ रनको रनको लक्ष्य पछ्याएको फार वेस्टले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनायो।
उसका लागि कप्तान हशमतुल्लाह शाहिदीले ५८, उमेर अलीले २३, नूर अहमद र विनोद भण्डारीले १०÷१० रन जोडे। विराटनगरका लागि राज नाननले तीन, सूर्य तामाङले दुई, नन्दन यादव र केओन जोसेफले एक÷एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थि त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको विराटनगर सुपर किंग्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनायो। उसका लागि हुसेन तलतले ५०, अर्जुन साउँदले २२, कप्तान रोहित कुमार पौडेलले २१ र विवेक यादवले अविजित ३५ रनको योगदान दिए।
फार वेस्टका लागि उमेर अलीले दुई, करण केसी र दुर्गेश गुप्ताले एकएक विकेट आफ्नो नाममा गरे।
त्यस्तै, आजको जितसँगै विराटनगर सुपर किंग्स ८ अंकका साथ तालिकाको चौथो स्थानमा रहेको छ। उसले अहिलेसम्म ९ खेलको सामना गर्दा पाँचमा हार चारमा जित निकालेको छ।
त्यस्तै, आजको हारसँगै फार वेस्ट युनाइटेड ४ अंकका साथ तालिकाको पुछारमा छ। उसले जारी प्रतियोगितामा ९ खेल खेल्दा ७ मा हार दुई मा जित निकालेको छ। आजको हारसँगै फार वेस्ट लिगबाटै बाहिरिने पहिलो टोली बनेको छ।
पोखरा, काठमाडौं र विराटनगरबीच प्लेअफमा स्थान बनाउन अव प्रतिस्पर्धा हुनेछ।