काठमाडौं। अमेरिकाबाट शंकास्पद पैसा ल्याउन खोजेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अछामका पृथ्वीबहादुर शाहसहित अछामको बन्निगढी गाउँपालिका–६ घर भई हाल काठमाडौंको चावहिल बस्ने विजयविक्रम शाह, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, पश्चिमनवरपराससीका रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद छन्। विजयविक्रम पृथ्वी शाहका भाई हुन्।
उनीहरुलाई शुक्रवार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंको चावहिलबाट पक्राउ गरेको हो।
ब्युरोका प्रमुख एआइजी उत्तम सुवेदीका अनुसार उनीहरूमाथि अदालतबाट ६ दिनको म्याद थपेर ठगी मुद्दामा अनुसन्धान भइरहेको छ।
शाहले अमेरिकाबाट ल्याउन लागेको शंकास्पद १२ लाख अमेरिकी डलर राष्ट्र बैंकले रोकेर राखिदिएको थियो।
उनीहरुविरुद्ध ‘हन्टिङ रिजर्भ अफ नेपाल प्राईभेट लिमिटेड’ लगायत दर्जनौं कम्पनीका नाममा विदेशबाट शंकास्पद रुपमा रकम भित्रिएको भेटिएपछि अनुसन्धान अघि बढेको थियो।