काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले समाजवादी ध्रुवीकरण आजको आवश्यकता भएको बताएका छन्।
पार्टीको राजनीतिक समिति बैठकमा पेस गरेको प्रस्तावमा उनले वृहदध्रुवीकरण मार्फत समाजवादी केन्द्र निर्माण गर्नुपर्ने बताएका हुन्।
उनले भनेका छन्, ‘यो आजको ऐतिहासिक आवश्यकता हो त्यो आवश्यकता एक्लै हिँडेर पूरा गर्न सम्भव छैन। यसका लागि विचार, नीति, कार्यक्रम मिल्ने निकटतम शक्तिहरुसँग सहकार्य, ध्रुवीकरण, एकीकरण गर्दै जानुको विकल्प छैन। रणनीतिक उद्देश्य प्राप्तिका लागि कार्यनीतिक स्टेपहरु मिलाउन सिपालु हुनैपर्छ।’
उनले ठूला दलहरुको मत घट्दै गएको र अहिले चुनावमा देखिएको नयाँ प्रवृत्तिको विश्लेषणसहित यस्तै अवस्था रहे अहिलेका राजनीतिक दलहरू अझ खुम्चिने प्रक्षेपण गरेका छन्। भट्टराईले यसपालि रास्वपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको उदयले कांग्रेस, एमाले, माओवादी र जसपा ४ वटै पार्टी कमजोर हुन पुगेका उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘स्थानीय तहको निर्वाचनमा काठमाडौं, धरानलगायत केही ठाउँमा असन्तुष्टिका भुल्काहरु देखा परिसकेका थिए। त्यसलाई ठूला दलहरुले गम्भीर समीक्षा गर्नुको साटो पानीको फोका भनेर मजाकमा उडाए। २०७४ पछि थपिएका ३६ लाख नयाँ पुस्ताका मतदाताको मनोविज्ञान बुझेर उनीहरुको मन जित्ने कार्यक्रम ठूला दलहरुले बनाएनन्।’
उनले पुराना र ठूला दलहरुको दम्भ, घमण्ड, अधिकांश नेताहरुको अक्षमता, नैतिकता र इमानदारितामा ह्रास देखेर युवा पुस्ताभित्र जसरी वितृष्णा बढ्दै गइरहेको आरोप मात्रै लगाएका छैनन्, त्यो अर्को निर्वाचनसम्म बिद्रोहमा रुपान्तरण नहोला भन्न नसकिने बताएका छन्। स्थानीय निर्वाचनदेखि प्रदेश र संघको निर्वाचन नतिजाले त्यसैको संकेत गरेको उनको दाबी छ।
उनले भनेका छन्, ‘स्थानीय निर्वाचनदेखि प्रदेश र संघको निर्वाचनसम्म आइपुग्दा दलहरुप्रतिको अविश्वास, आम निराशा र वितृष्णा बढ्दै गएको देखिन्छ। त्यसको परिणामस्वरुप स्वतन्त्र उम्मेदवारहरुप्रतिको आकर्षण मतदातामा बढेको देखियो। दलहरुभित्र टिकटको झमेला, टिकट वितरणमा अपारदर्शीता र पक्षपात, निर्वाचनमा धन, डन र गनको बढ्दो प्रभावले लोकतन्त्रप्रति जनविश्वास कमजोर हुँदै गैरहेको छ।’