काठमाडौं। नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको खुलेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको लिगको अनुसन्धनमा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रारम्भिक निष्कर्ष निकालेको छ।
प्रारम्भिक निष्कर्षमा ३ जना नेपाली र ४ जना विदेशी खेलाडीले स्पट फिक्सिङ गरेको र त्यसमा आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको संग्लग्नता रहेको खुलेको छ।
सीआईबीले खेलाडीहरुको बयान पनि लिइसकेको छ। स्पट फिक्सिङमा संलग्न खेलाडीको नाम भने सीआईबीखे खुलाएको छैन। एउटा खेलाडीले एउटा खेलमा स्पट फिक्सिङ गरेबापत १० लाख जति लिनेगरेको अनुसन्धानमा पाइएको छ।
लिगमा बेटिङ, म्याच फिक्सिङ र स्पट फिक्सिङ भइरहेको भन्दै विरोध आलोचना भएपछि गृहमन्त्री रवि लामिछानेले छानविन गर्न निर्देशन दिएका थिए।
नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा प्रतियोगितामा काठमाडौंबाट खेलेका ज्ञानेन्द्र मल्लले लिगमा पनि म्याच फिक्सिङ भइरहेको खुलासा गरेका थिए।
म्याच फिक्सिङ भइरहेको आरोप लगाउँदै अधिकारिक प्रसारणमा कमेन्टेटरको रुपमा काम गर्दै आएका सचिन तिमल्सिनाले लिगबाट अलग भएको घोषणा गरेका थिए।
लिग विवादित बनेपछि आइसिसीका प्रतिनिधि टिम समेत आएको थिए। उक्त टोलीले सिआइबीसँग पनि गएर भेटेको थियो।
तर, क्यानले नेपाल टी–२० लिगमा म्याच फिक्सिङ र स्पोट फिक्सिङ नभएको दाबी गरेको थियो।
सम्बन्धित समाचारः जनकपुरलाई हराउँदै लुम्बिनी नेपाल टी–२० लिगको फाइनलमा