काठमाडौं। विराटनगर सुपर किंग्स राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
सोमबार भएको एलिमिनेटर खेलमा काठमाडौं नाइट्सलाई ९९ रनले हराउँदै विराटनगर दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो।
नेट रन रेटको आधारमा एलिमिनेटर पुगेको काठमाडौंले भने मौकाको सदुपयोग गर्न सकेन। एलिमिनेटरमा विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौंले १२.४ ओभरमा सबै विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो। उसका लागि अविनाश बोहराले अविजित १६, कप्तान ज्ञानेन्द्र मल्लले १५, लोकेश बमले १३ र कमल ऐरीले ११ रन बनाए।
काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा विराटनगरमा आवद्ध सूर्य तामाङले चार, साहब आलम, केओन जोसेफले दुई–दुई र हुसेन तलतले एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनायो।
उसका लागि कप्तान रोहितकुमार पौडेलले ६१, विवेककुमार यादवले अविजित ४६, हुसेन तलतले ३८ र राज नाननले २३ रन जोडे। काठमाडौंका लागि अनिल खरेल, कमल सिंह ऐरीले दुई–दुई, गौतम केसी, अविनाश बोहरा र एक–एक विकेट लिए।
विराटनगरले मंगलबार फाइनल प्रवेशका लागि जनकपुर रोयल्सको सामना गर्नेछ। उक्त खेलको विजेताले उपाधिका लागि लुम्बिनीसँग खेल्नेछ। फाइनल बुधबार हुनेछ।