काठमाडौं। मलेसियामा समस्यामा परेका थप २८ जना नेपालीको समस्या समेत समाधान भएको छ। तीमध्ये ७ जना भने नेपाल फर्किने भएका छन्।
यसअघि मलेसियाको पिआरएस फोरेस्ट म्यानेजमेन्ट कम्पनीमा कामका लागि गएका १३ जना नेपालीको उद्धार भएको थियो। मलेसियास्थित नेपाली दूतावासको पहलमा उनीहरु नेपाल फर्किँदैछन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार बिहान मलेसियामा समस्यामा परेका नेपालीहरुको उद्धार गर्न निर्देशन दिएका थिए। प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि परराष्ट्र मन्त्रालयले मलेसियास्थित नेपाली दूतावासमा सम्पर्क गर्दै समस्यामा परेका नेपालीहरुको अवस्था बुझ्दै आवश्यक पहल गर्न निर्देशन दिएको थियो।
दूतावासले दिएको जानकारी अनुसार, खोजी रिक्रुटमेन्ट सर्भिसमार्फत मलेसियाको हङ तीजे इन्टरप्राईज कम्पनीमा काम गर्न गएका २८ जना नेपालीहरुको उद्धार भएको हो। कम्पनीले सेवा शर्त अनुसार काम र सुविधा नदिएपछि उनीहरु समस्यामा परेका थिए।
सरकारका निर्देशनसँगै दूतावासको समन्वयमा २८ जनामध्ये बुधबार ७ जना नेपाल फर्किने निश्चित भएको छ। नौ जना नेपाली श्रमिकले भने कम्पनीले सेवाशर्त अनुसार तलब सुविधा दिने प्रतिबद्धता व्यक्त गरेपछि सोही कम्पनीमा काम गर्ने बताएको र अन्य ९ जनाले भने नेपाल फर्किने या सोही कम्पनीमा पुनः काम गर्ने निधो गर्न बाँकी रहेको छ।
प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरुका समस्याबारे गुनासो आएमा तत्काल सम्बोधन गर्न यसअघि नै सचिवहरुसँगको छलफलका क्रममा समेत निर्देशन दिएका थिए।