काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदैछन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा यही पुस १० प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले एक महिना अगावै विश्वासको मत लिन लागेका हुन् ।
यद्यपि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार निर्माणको अर्को चरण सुरु हुन्छ । यस प्रावधानबमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूमध्ये सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुहुन्छ ।
अहिले काँग्रेस प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल रहेको छ । प्रचण्डले प्रधानमन्त्रीमा प्रतिनिधिसभाका बहुमत सांसदले विश्वासको मत नदिएमा काँग्रेस पार्टीबाट शेरबहादुर देउवालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने हुन्छ । त्यसरी नियुक्त हुनुभएका प्रधानमन्त्रीले पनि संसद्मा नियुक्त भएको ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ ।
यद्यपि प्रधानमन्त्रीलाई विश्वासको मत पाउनका लागि सुविधाजनक बहुमत रहेको छ । काँग्रेस र नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदान गर्दा पनि प्रचण्डलाई पर्याप्त सांसदको साथ रहेको छ ।