काठमाडौं। पहिलो संस्करणको नेपाल टी–२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ।
बुधबार भएको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो।
लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो। उसका लागि अर्जुन साउँदले ३४, पृथु बाँस्कोटाले ३१ र हुसेन तलतले १३ रन बनाए।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्। लुम्बिनीका लागि हरमनप्रीत, सागर ढकालले दुई÷दुई, किशोर महतो र विपुल शर्माले एक÷एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनील १९.२ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनायो। उसका लागि ओपनिङ ब्याटर लाहिरु मिलन्थाले सर्वाधिक ४१ रन बनाए। त्यस्तै, हरमित सिंहले ३०, कप्तान दीपेन्द्र सिंह ऐरीले २० र इशान पाण्डेले १८ रनको रन जोडे।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्। विराटनगरका लागि नन्दन यादव र राज नाननले दुई, कप्तान रोहित कुमार पौडेल, सूर्य तामाङ, केओन जोसेफ, र हुसेन तलतले एक–एक विकेट लिए।
विजेता लुम्बिनीले ट्रफीसहित ५५ लाख रुपैयाँ पुरस्कार पाएको छ। त्यस्तै, उपविजेताले विराटनगरले ३० लाख नगद प्राप्त गरेको छ। तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र तथा चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाएको छ।