काठमाडौं । नेपाल बैंकर्स संघले माघदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ । बुधबार बैंकर्स संघले १ माघदेखि नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था भित्र रहेर निक्षेपको ब्याजदर घटाउने निर्णय भएको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए ।
हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याजदर दिंदै आएका छन् । यस्तै नेपाल राष्ट्र बैंकले व्यक्तिगत र संस्थागत मुद्धति निक्षेपको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुले अन्तर कायम गर्नुपर्ने ब्यवस्था गरेको छ । जसअनुसार संस्थागत मुद्धति निक्षेपको अधिकतम ब्याजदर १०.१३३ प्रतिशत रहेको छ ।
यस्तै मुद्दती निक्षेपको अधिकतम र बचतको न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत कायम गर्नुपर्ने केन्द्रीय बैंकको व्यवस्था छ । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा वाणिज्य बैंकहरुले दिएको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशतले मात्रै निक्षेपको ब्याजदर घटाउने पाइने व्यवस्था गरेको छ।सोही व्यवस्था भित्र रहेर मुद्दती तथा बचतको ब्याजदर हटाउने निर्णय भएको अध्यक्ष केसीले बताए ।