काठमाडौं। नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि अहिले उच्च अदालत पाटनमा सुनुवाइ सुरु भएको छ।
जबरजस्ती करणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उनले दिएको निवेदनमा न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको हो।
बिहीवार उक्त मुद्दाको तीन नम्बरमा पेसी तोकिएको थियो। आज उक्त मुद्दामा सुनुवाइ भएर आदेश आउने सम्भावना छ।
यसअघि उक्त मुद्दा तीनपटक पेसी तोकिए पनि स्थगित भएको थियो। एकपटक हेर्न नभ्याइनेमा परेको थियो भने दुईपटक सन्दीपको कानुन व्यवसायीको तर्फबाट सुनुवाई स्थगित भएको थियो। अब कानुन व्यवसायीको तर्फबाट भने पेसी स्थगित गर्न मिल्दैन।
एक किशोरीले बलात्कारको उजुरी दिएपछि २० असोजमा सन्दीप पक्राउ परेका थिए। लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा नाबालिगलाई बलात्कार गरेको अभियोगमा मुद्दा चलिरहेको छ।
पीडित किशोरी नाबालिग वा बालिग भन्ने विषयमा विभिन्न तर्क आएपछि जिल्ला अदालतले अस्पतालबाट जन्म मिति ल्याउन आदेश दिएको थियो। उक्त आदेशपछि नारायणी उपक्षेत्रीय अस्पतालले किशोरीको जन्म मिति २०६१ साल जेठ १८ गते देखिएको पठाएको थियो। यसले भदौ ५ को केश भएकाले ती किशोरी जेठ १८ मै १८ वर्ष पुगेको देखिएको छ।
हाल केन्द्रीय कारागारमा रहेका सन्दीपको न्यायका लागि सर्वसाधरण तथा क्रिकेटरहरुले आवाज उठाउँदै आएका छन्।