काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुने भएका छन् ।
पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका हुन् ।
न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।
उच्च अदालत पाटनका सूचना अधिकारी दिनेश पौडेलले नेपाली पब्लिकलाई भने- शर्तसहित २० लाख धरौटीमा छोड्ने आदेश भएको छ । आदेश २० पेजको छ। थप कुरा पछि थाहा हुन्छ।उनलाई विदेश जान भने रोक लगाइएको छ ।अब सन्दीप शुक्रबार २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुनेछन् ।
रिहाइका आधार
– पीडितको बयान भइसकेको अवस्था भएको हुँदा उनलाई दबाब दिने वा प्रभाव पर्न सक्ने सम्भावना वा आशंका नहुनु,
– थुनाबाहिर हुँदा समाजमा फैलिएका आक्रोश र आवेगबाट उनको ज्यानमाथि खतरा नहुनु,
– थुनामुक्त गर्दा सार्वजनिक शान्ति सुरक्षा, कानुन र व्यवस्थामा पनि खतरा नहुनु,
– घटनाअघि प्रतिवादी गम्भीर वा जघन्य प्रकृतिको अपराधमा संलग्न नहुनु,
– थुनामुक्त गर्दा पीडितले आत्महत्या वा कुनै अप्रिय घटना छनोट गर्ने सम्भावना नहुनु
– मानसिक तनावको अवस्थाबाट गुज्रिरहेको इजलाससमक्ष बहसको क्रममा उल्लेख हुनु
– फौजदारी न्यायशास्त्रको मान्यताअनुसार अभियुक्तलाई थुनाको विकल्प प्रयोग गर्नमा अदालत उदार हुनुपर्ने ।
सन्दीपलाई सर्त
– विदेश जान नपाउने, त्यस अवधिसम्म उनको राहदानी पनि रोक्का।
– आफूखुसी काठमाडौं उपत्यका छाड्न पनि नपाउने, जानुपरे जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुमति लिनुपर्ने,
– पीडित वा उनको परिवारका सम्बन्धमा विद्युतीय वा सामाजिक सञ्जालबाट कुनै सामग्री प्रकाशन गर्न नपाउने,
– पीडित र पीडितको परिवारसँग सम्पर्क वा भेट गर्न पनि बन्देज, पीडित वा उनको परिवारलाई डर, त्रास, धम्की, दबाब र प्रभाव दिने कुनै कार्य गर्न नपाउने,
– आदेश पालना भए–नभएको जाँचबुझ गर्ने अधिकार नेपाल प्रहरीलाई, सर्त उल्लंघन गरे धरौटीमा रिहा गर्ने आदेश स्वतः निष्क्रिय भएको मानिने।
दिनभर सुनुवाइ
लामिछानेको पक्षबाट अधिवक्ताहरू शम्भु थापा, रमन श्रेष्ठ, कृष्ण भण्डारी, मुरारी सापकोटालगायतले बहस गरेका थिए।
जबरजस्ती करणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उनलेउच्च अदालतमा निवेदन दिएका थिए।
उक्त मुद्दाको सुनुवाइका लागि आज १२ मुद्दालाई ‘हेर्न नभ्याइने’मा राखिएको थियो। आज उक्त मुद्दाको तीन नम्बरमा पेसी तोकिएको थियो।
यसअघि उक्त मुद्दा तीनपटक पेसी तोकिए पनि स्थगित भएको थियो। एकपटक हेर्न नभ्याइनेमा परेको थियो भने दुईपटक सन्दीपको कानुन व्यवसायीको तर्फबाट सुनुवाई स्थगित भएको थियो।
एक किशोरीले बलात्कारको उजुरी दिएपछि २० असोजमा सन्दीप पक्राउ परेका थिए।
हाल केन्द्रीय कारागारमा रहेका सन्दीपको न्यायका लागि सर्वसाधरण तथा क्रिकेटरहरुले आवाज उठाउँदै आएका थिए। तर सन्दीपविरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा भने विचाराधीन अवस्थामा छ।