काठमाडौँ । सन्दीप लामिछाने भोलि थुनामुक्त हुने भएका छन् । क्रिकेटर लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका हुन् ।
उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन ढिलो भएका कारण भोलिमात्र रिहा हुने भएका हुन् ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएका छन् । सन्दीपलाई विदेश जान भने रोक लगाइएको सन्दीपको पक्षबाट बहस गरेका अधिवक्ता मुरारी सापकोटाले जानकारी दिए ।
लामिछानेको पक्षबाट अधिवक्ताहरू शम्भु थापा, रमन श्रेष्ठ, कृष्ण भण्डारी, मुरारी सापकोटालगायतले बहस गरेका थिए। जबरजस्ती करणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उनलेउच्च अदालतमा निवेदन दिएका थिए।
उक्त मुद्दाको सुनुवाइका लागि आज १२ मुद्दालाई ‘हेर्न नभ्याइने’मा राखिएको थियो। आज उक्त मुद्दाको तीन नम्बरमा पेसी तोकिएको थियो।
यसअघि उक्त मुद्दा तीनपटक पेसी तोकिए पनि स्थगित भएको थियो। एकपटक हेर्न नभ्याइनेमा परेको थियो भने दुईपटक सन्दीपको कानुन व्यवसायीको तर्फबाट सुनुवाई स्थगित भएको थियो।
एक किशोरीले बलात्कारको उजुरी दिएपछि २० असोजमा सन्दीप पक्राउ परेका थिए। हाल केन्द्रीय कारागारमा रहेका सन्दीपको न्यायका लागि सर्वसाधरण तथा क्रिकेटरहरुले आवाज उठाउँदै आएका थिए।
तर सन्दीपविरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा भने विचाराधीन अवस्थामा छ