काठमाडौं। राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने शुक्रबार थुनामुक्त हुने भएका छन्।
नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो।
सम्बन्धित समाचारः सन्दीप लामिछाने धरौटीमा रिहा
रिहा भएपछि सन्दीपले क्रिकेट खेल्न पाउँछन् कि पाउँदैनन् भन्ने आम चासो रहेको छ। तर, आदेशमा सन्दीपले क्रिकेट खेल्न पाउने वा नपाउनेबारे केही उल्लेख छैन।
उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले सन्दीपले क्रिकेट खेल्न पाउने बताए। अदालतले प्रतिबन्ध लगाएको विषयमा बाहेक अरू सन्दीपले गर्न पाउने उनको दाबी छ।
सन्दीपलाई अदालतले रिहा गर्दा विदेश जान नपाउने, त्यस अवधिसम्म उनको राहदानी पनि रोक्का रहने, आफूखुसी काठमाडौं उपत्यका छाड्न पनि नपाउने, जानुपरे जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुमति लिनुपर्ने, पीडित वा उनको परिवारका सम्बन्धमा विद्युतीय वा सामाजिक सञ्जालबाट कुनै सामग्री प्रकाशन गर्न नपाउने, पीडित र पीडितको परिवारसँग सम्पर्क वा भेट गर्न पनि बन्देज, पीडित वा उनको परिवारलाई डर, त्रास, धम्की, दबाब र प्रभाव दिने कुनै कार्य गर्न नपाउने शर्त दिएको छ।
सम्बन्धित समाचारः
सन्दीपलाई धरौटीमा रिहा गर्न दिइएको अदालतको आदेशमा के छ ? (पूर्णपाठ सहित)
रजिष्ट्रार कट्टेलले भने, ‘अदालतले आदेशमा राखेका शर्तबाहेक अन्य काम सन्दीपले गर्न पाउँछन्।’
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर अगाडि बढ्ने बताए।
चन्दले शारीरिक तथा मानसिक रूपमा ‘फिट’ भए सन्दीपको निलम्बन फुकुवा गरेर टोलीमा राख्ने बताए।
अदालतले धरौटीमा छाड्न आदेश दिएका लामिछानेलाई राष्ट्रिय टिममा फर्किन नरोक्ने उनका वकिल सरोजकृष्ण घिमिरेले बताए।
घटना के हो ?
एक किशोरीले बलात्कारको उजुरी दिएपछि २० असोजमा सन्दीप पक्राउ परेका थिए।
१८ कात्तिकमा लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध लामिछानेले दिएको निवेदनमा बिहीवार सुनुवाइ गर्दै न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले शर्तसहित २० लाख धरौटी रिहा गर्ने आदेश दिएको थियो।
लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गरे पनि जिल्ला अदालत काठमाडौंमा भने उनीमाथिको बलात्कार मुद्दा विचाराधीन अवस्थामै छ।
लामिछानेले चाहिँ आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएका थिए।