काठमाडौं। नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने कारागारबाट रिहा भएका छन्।
शुक्रबार उनका परिवारले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम दाखिला गरेपछि लामिछाने केन्द्रीय कारागारबाट रिहा भएका हुन्।
सन्दीपलाई अहिले जिल्ला अदालत काठमाडौं लगिएको छ। अदालतमा तारेख बुझेपछि उनलाई कैदमुक्त गर्न फेरि कारागार ल्याइने जेलर ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए। त्यसपछि उनी रिहा हुनेछन्।
बिहीवार उच्च अदालत पाटनले बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
एक किशोरीले बलात्कारको उजुरी दिएपछि २० असोजमा सन्दीप पक्राउ परेका थिए।
१८ कात्तिकमा लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध लामिछानेले दिएको निवेदनमा बिहीवार सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले शर्तसहित २० लाख धरौटी रिहा गर्ने आदेश दिएको थियो।
लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गरे पनि जिल्ला अदालत काठमाडौंमा भने उनीमाथिको बलात्कार मुद्दा विचाराधीन अवस्थामै छ।
लामिछानेले चाहिँ आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएका थिए।
रिहाइका आधार
– पीडितको बयान भइसकेको अवस्था भएको हुँदा उनलाई दबाब दिने वा प्रभाव पर्न सक्ने सम्भावना वा आशंका नहुनु,
– थुनाबाहिर हुँदा समाजमा फैलिएका आक्रोश र आवेगबाट उनको ज्यानमाथि खतरा नहुनु,
– थुनामुक्त गर्दा सार्वजनिक शान्ति सुरक्षा, कानुन र व्यवस्थामा पनि खतरा नहुनु,
– घटनाअघि प्रतिवादी गम्भीर वा जघन्य प्रकृतिको अपराधमा संलग्न नहुनु,
– थुनामुक्त गर्दा पीडितले आत्महत्या वा कुनै अप्रिय घटना छनोट गर्ने सम्भावना नहुनु
– मानसिक तनावको अवस्थाबाट गुज्रिरहेको इजलाससमक्ष बहसको क्रममा उल्लेख हुनु
– फौजदारी न्यायशास्त्रको मान्यताअनुसार अभियुक्तलाई थुनाको विकल्प प्रयोग गर्नमा अदालत उदार हुनुपर्ने ।
सन्दीपलाई सर्त
– विदेश जान नपाउने, त्यस अवधिसम्म उनको राहदानी पनि रोक्का।
– आफूखुसी काठमाडौं उपत्यका छाड्न पनि नपाउने, जानुपरे जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुमति लिनुपर्ने,
– पीडित वा उनको परिवारका सम्बन्धमा विद्युतीय वा सामाजिक सञ्जालबाट कुनै सामग्री प्रकाशन गर्न नपाउने,
– पीडित र पीडितको परिवारसँग सम्पर्क वा भेट गर्न पनि बन्देज, पीडित वा उनको परिवारलाई डर, त्रास, धम्की, दबाब र प्रभाव दिने कुनै कार्य गर्न नपाउने,
– आदेश पालना भए–नभएको जाँचबुझ गर्ने अधिकार नेपाल प्रहरीलाई, सर्त उल्लंघन गरे धरौटीमा रिहा गर्ने आदेश स्वतः निष्क्रिय भएको मानिने।
सम्बन्धित समाचारः
सन्दीप लामिछाने धरौटीमा रिहा
सन्दीपलाई धरौटीमा रिहा गर्न दिइएको अदालतको आदेशमा के छ ? (पूर्णपाठ सहित)
रिहा भएपछि सन्दीप लामिछानेले क्रिकेट खेल्न पाउने