काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । छैटौँ वार्षिक साधारण मार्फत लघुवित्तले १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १९ प्रतिशत बोनस शेयर तथा २०७८/०७९ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी रु ३२ करोड १२ लाख २५ हजार ५ सय कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।
यस्तै छैटौँ वार्षिक साधारणले आर्थिक वर्ष २०७९/०८० को बाह्य लेखा परीक्षण कार्यका लागि लेखा परीक्षक एस.डी एण्ड एसोसिएट्स, चार्टड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने, भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाम्ने र गाभिने तथा प्राप्ति र सहमती सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्न, सहमति पत्रमा हस्ताक्षर गर्न, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्कमा निवेदन दिन, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरिक्षक नियुक्त गर्न र निजको पारिश्रमिक निर्धारण गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।
यो वित्तीय संस्थाको ९३ वटा शाखा कार्यालयहरू मार्फत एक लाख भन्दा धेरै घरपरिवारलाई प्रत्यक्ष वित्तीय सेवा प्रवाह गरिरहेको सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर थापाले बताए ।