काठमाडौं। आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा चर्चित गिटारिष्ट तथा गीतकार निशान्त आचार्यको पनि मृत्यु भएको छ।
आचार्य आफ्नो घर पोखरा जाने क्रममा विमान दुर्घटनामा परेका हुन्। सो क्रममा उनका मृत्यु भएको पुष्टि भएको छ।
काठमाडौंमा धापासी बस्दै आएका आचार्य पछिल्लो समय नेपालका चर्चित गिटारिस्ट हुन्। ‘के ६ वि४’ नामक ब्याण्ड सञ्चालन गर्दै आएका उनको लोकप्रियता युटयुब र टिकटकजस्ता इन्टरनेटका भिडियो प्लेटफर्ममा पनि उत्तिकै छ।
उनले यी भिडियो प्लेटफर्मबाट गिटारसम्बन्धी ट्युटोरियल सिकाउँदै आएका थिए।
खाउन डाँडा पोखराका आचार्य विश्वकै ठूलो कम्पनीमा रुपमा परिचित सोनी म्यूजिकमा पनि काम गरिरहेका थिए र उक्त कम्पनीमा थप नयाँ योजनाका साथ काम गर्ने तयारीमा थिए। तर, आइतवार भएको दुर्घटनाले उनीमात्रै यो संसारबाट सधैंको लागि अस्ताएका छैनन्, उनका यी यस्तै तमाम योजना पनि तुहिएका छन्।
उनी साहना गिटारमा आवद्ध थिए भने Treasure Music Store को ‘ब्राण्ड एम्बास्डर’ हुन्। उनी दराजमा आवद्ध हुने पहिलो गीतकार हुन्। उनी साहना गितारसँग आफ्नो कष्टुमाइज गितार बनाएर आवद्ध थिए।
विशेष गरी युवा पुस्तामाझ लोकप्रिय तथा प्रेरणाका स्रोत रहेका स्टेज नाम guitarfr3ak ले चिनिने आचार्यका टिकटकमा ६५ हजार ७ सय, युट्युवमा २७ हजार ६ सय, इन्टामा १० हजार ७ सय फ्लोअर्स छन्।
दुर्घटना
काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एनएनएसी विमान आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको थियो। काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको विमान १०ः५० बजे सेती खोंचमा दुर्घटनामा परेको थियो।
विमानमा ६८ यात्रु र ४ चालक दलका सदस्य थिए। जहाज पाइलट कमल केसीले उडाएका थिए।
दुर्घटनामा परेकामध्ये ६८ जनाको शव फेला परेको छ भने हराइरहेका ४ जनाको बिहानैदेखि खोजि भइरहेको छ। फेला परेका ६८ शवमध्ये २६ जनाको पहिचान खुलेको छ।
सम्बन्धित समाचार:-
काठमाडौंबाट पोखराका लागि उडेको जहाज दुर्घटना
यी हुन् पोखरामा दुर्घटना भएको विमानमा सवार यात्रु (नामावलीसहित)
विमान दुर्घटनाः भोलि शोक बिदा, अन्य के–के गर्यो मन्त्रिपरिषदले निर्णय ?
माघीकै दिन सेती खोँचमा बिलायो सुरक्षित मानिएको एटिआर
बिहानैबाट पुन: थालियो विमान दुर्घटनाको उद्धारकार्य
पोखरा विमान दुर्घटना : २६ जनाको पहिचान खुल्यो
दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो, खुल्ला त कारण ?