काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशमा रहेका लाखौँ नेपालीको मन जित्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज गैरआवासीय सङ्घ एनआरएनएका प्रतिनिधिसँगको छलफलमा उनले विशेमा रहेका नेपालीको पनि मन जित्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले भने, “विदेशमा लाखौँ नेपाली छन्, मैले मेरो दोस्रो कार्यकालसम्म गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले उठाएका मागहरू सम्बोधनका लागि प्रयास गरेँ र अब तेस्रो कार्यकालमा विदेशमा बस्ने बहुसङ्ख्यक नेपालीको मन जित्छु ।”
प्रधानमन्त्रीले भने, “नेपालका कतिपय परम्परागत ऐन कानून छन्, जसले म नेपालका लागि केही गर्छु भन्नेलाई पनि बाधा व्यवधान खडा गरेको छ,तपाईंलाई विश्वस्त पार्न चाहन्छु कि म त्यस्ता खालका पर्खाललाई भत्काउनेछु ।”
एनआरएनएका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री दाहालले नेपालमा विद्यमान कतिपय कानूनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई नेपाल सरकारले क्रमशः सच्याउँदै आएको र अबका दिनमा पनि कानूनी उल्झनलाई पन्छाउने प्रयास आफ्नो तर्फबाट जारी रहने बताए ।