काठमाडौं। प्रतिनिधिसभामा सभामुख पदका लागि आज मतदान हुँदैछ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सभामुख चयनका लागि प्रतिनिधिसभा बैठक सुरू भएको छ।
सभामुखका लागि सत्ता साझेदार दलको तर्फबाट नेकपा एमालेका देवराज घिमिरे र विपक्षी दलको तर्फबाट नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन्।
आजको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ। त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ जना सांसदको समर्थन चाहिन्छ। जसले बहुमत पुर्याउँछ उही सभामुख हुनेछन्।
एमालेका सांसद घिमिरेलाई प्रतिनिधि सभामा एमालेका ७९, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४ र जसपाका १२ जना सांसदको समर्थन छ।
त्यस्तै, न्यौपानेलाई कांग्रेसका ८८, नेकपा एकीकृत समाजवादीका १०, लोसपाको ४ जना सांसदको समर्थन छ।
संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ। सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्ने प्रावधान छ।