काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म सानिमा बैंकको नाफा बढेको छ । बैंकले शनिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार एक अर्ब २८ करोड ५३ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा बैंकले एक अर्ब तीन करोड ३० लाख रुपैयाँ नाफा गरेको थियो ।
बैंकले ६ महिनाको अवधिमा तीन अर्ब २१ करोड पाँच लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत वर्ष बैंकले ब्याज आम्दानी बापत दुई अर्ब १८ करोड रुपैयाँ आर्जन गरेको थियो ।
बैंकले सञ्चालन नाफामार्फत एक अर्ब ८२ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यस्तो मुनाफा एक अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको थियो । त्यस्तै बैंकको खराब कर्जा बढेको छ । गत वर्ष ०.३१ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको पुस मसान्तसम्म बढेर ०.७७ प्रतिशत कायम भएको छ ।
बैंकले पुस मसान्तसम्म एक खर्ब ५९ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब ४३ अर्ब ३३ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको चुक्तापुँजी १२ अर्ब ४६ करोड ११ लाख रुपैयाँ कायम भएको छ भने जगेडा कोषमा चार अर्ब ६२ करोड ६६ लाख रुपैयाँ कायम भएको छ ।