काठमाडौं। जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ।
अपहरणपछि हत्या हुनेमा जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साह रहेका छन्।
भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका उनीहरु १३ दिनदेखि सम्पर्कविहीन थिए। सुरुमा मागेको २० लाख फिरौती रमम दिन साहका परिवार राजी भएपछि अपहरणकारीले ५० लाख फिरौती दिन भनेका थिए।
अपहरणकारीले २० लाखसहित सर्लाहीको मलङ्गवा नाकामा बोलाएका र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मङ्गलवारदेखि अपहरणकारी मङ्गलवारदेखि सम्पर्कबिहीन बनेका थिए। त्यसपछि आइतबार बिहान सोही क्षेत्रमा उनीहरुको शव भारतीय प्रहरीले फेला पारेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले उनीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिए।
अहिले भारतको बेला परिहार पर्सास्थित प्रहरी चौकीमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ ।
एकै परिवारका उनीहरु एक्लो छोरा थिए।
पक्राउ
घटनामा संलग्न भएको आशंकामा प्रहरीले धनुषाबाट २ जनालाई पक्राउ गरेको छ। भारतीय प्रहरीले पनि ३ जनालाई पक्राउ गरेको छ।
चारजना फरार रहेकाले खोजबिन भइरहेको प्रहरीले जनाएको छ ।