पोखरा। गण्डकी विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय बीच सहयोग आदान प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
आइतबार गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङ र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
गण्डकी विश्वविद्यालयका कुलपति गुरुङले विश्वविद्यालयमा माइनिङ इन्जिनियरिङको आवश्यकता परेकाले काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्दै दक्ष जनशक्ति उत्पादनमा लाग्ने उद्देश्य रहेको बताए।
काठमाडौं विश्वविद्यालयका उपकुलपति थापाले नेपालमा माइनिङ इन्जिनियरिङको अभवालाई परिपूर्ति गर्ने उद्देश्य स्वरुप काठमाडौं विश्वविद्यालय लागेको र अब गण्डकी विश्वविद्यालयसँग पनि सहकार्य गर्दै अगाडि बढ्ने बताए।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा गण्डकी प्रदेश सरकारका विना विभागीय मन्त्री सीता सुन्दासले राज्यको ध्यान नपुगेको विषयवस्तुहरुलाई आत्मसात् गर्दैै गण्डकी र काठमाडौं विश्वविद्यालय अगाडि बढेको देख्दा खुशी लागेको बताइन्।