पोखरा । कोरस डान्सर ढल्दा बेवास्ता गरेको आरोप लागेपछि चलचित्र ‘प्रसाद २’ले चलचित्रलाई असफल बनाउन आफूहरू माथि गम्भीर प्रकृतिको आरोप लगाइएको बताएको छ । आज ‘प्रसाद २’ टीमले पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो ।
चलचित्रका निर्देशक सुदर्शन थापाले सत्यता के हो त्यसको सोधखोज नगरीकन ‘प्रसाद २’ को विषयमा फैलाइएको अफवाह गलत भएको उल्लेख गरेका छन् । चलचित्र टीममाथि कोरस डान्सर सपना महर्जन ढल्दा बेवास्ता गरेको आरोप लगाइएको छ । यता चलचित्र निमार्ण पक्षले भने सामाजिक सञ्जालमा आएका सबै कुरा मिथ्या भएको जनाएको छ ।
‘बहिनी सपना महर्जनको विषयलाई लिएर जसरी सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ । यस प्रति हाम्रो ध्यानाकर्षण भएको छ । कोरस डान्स गर्नुभएकी बहिनीको स्वास्थ्य लाभका लागि चलचित्र टीमले सक्दो सहयोग गरिरहेको छ,’चलचित्रका निर्देशक थापाले भने ।
पुस ३० गते साढे ४ बजे सुटिङ सकेर होटेलको रुम तर्फ लागेपछि सपना बहिनीको स्वास्थ्य अवस्था अचानक बिग्रेको खबर आफूले पछि मात्रै जानकारी पाएको बताए ।
थापाले सपना महर्जनको स्वास्थ्य प्रति आफू र सम्पूर्ण टिम नै चिन्तित रहेको बताएका छन् । साथै महर्जनको उपचारका लागि आर्थिक सहयोगको समेत व्यवस्था गर्न लागेको जानकारी गराएका छन् ।
चलचित्र टिमले महर्जनकै उपचारका लागि नेपाल नृत्य सङ्घलाई ५१ हजार रुपैयाँ हस्तान्तरण गरिसकेको छ । चलचित्र ‘प्रसाद २’ नयाँ वर्ष वैशाख १ मा रिलिज हुँदै छ । जसमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।