धनगढी। कैलालीका तीन वटा पालिकामा दादुरा देखिएको छ । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका तीन जना बालकमा दादुरा देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका तीन बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीका अनुसार धनगढी उप महानगरपालिका–१, गोदावरी नगरपालिका–३ भैसीहारका पाँच वर्ष १० महिनाका एक बालक र गौरीगङ्गा नगरपालिका–६ का १८ महिने बालकमा शुक्रबार दादुरा पुष्टि भएको हो ।
उनका अनुसार दुवै बालकले दादुराविरुद्धको पुर्ण खोप लगाएका थिए । गौरीगंगाको बालकमा डोटीबाट फर्केपछि दादुरा देखिएको हो । यस्तै, गरेर धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका दुई बालकमा पनि दादुराको लक्षण देखिएपछि उपचार भइरहेको छ । उनीहरूको नमुना संकलन गरेर ल्याबमा पठाइएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामीले बताए ।
उनका अनुसार धनगढीका साढे तीन वर्षका एक बालकले आधा खोप लगाएका र अका एक पाँच वर्षीय खोप नलगाएका बालकमा पनि दादुराको लक्षण देखिएको छ ।
खोप नलगाएका बालकमा भारत गएर फर्किएपछि दादुरा देखिएको हो । उनीहरूका अभिभावकहरू बच्चा सहित रोजगारीका लागि भारत आउने जाने गर्नाले खोप छुटेको हुनसक्ने स्वास्थ्य कार्यालयले अनुमान गरेको छ ।
बालबालिकाले जन्मेदेखि १५ महिना भित्रमा १३ वटा खोप लगाउनुपर्छ । केही गरेर ती खोप छुटेमा पाँच वर्षभित्र लगाउनु पर्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामलिे बताए ।