काठमाडौं। जुम्लामा हिमपात भएको छ। जुम्लाको सदरमुकाम खलङ्गा बजारसहित विभिन्न स्थानमा हिमपात भएको हो।
जुम्लामा हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीय बताउँछन्।
वर्षासँगै हिमपात भएपछि बढेको चिसोले जनजीवन कष्टकर भएको छ। हिउँ परेपछि बाली सप्रिने भन्दै किसानहरू भने खुसी भएका छन्।
हिउँ परेपछि धारामा खानेपानी नआउँदा स्थानीय समस्यामा परेका छन्। कर्णाली प्रदेशका अन्य जिल्लामा पनि हिमपात भएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ। बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको जनाइएको छ।
सिगासका किसान दानसिंह बोहराका अनुसार गएरातिदेखि मौसममा बदली आएसँगै आज बिहानदेखि हिमपात भएको हो। वर्षा र हिमपातका कारण चिसो बढेको छ। चिसोका कारण जनजीवन प्रभावित भएको छ।
चिसोले बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा बढी प्रभावित भएका छन्। चिसोबाट बच्न न्यानो लुगा लगाउन, झोलिलो कुरा सेवन गर्न, घरबाहिर ननिस्कन आग्रह गरिएको छ।
यसवर्षको हिउँदमा ढिलोगरी हिमपात भएको हो।