काठमाडौं। काठमाडौं महानगरपालिकाले दरबारमार्गको सडकमा हुने सवारी पार्किङ हटाउँदा व्यापारमा ५० प्रतिशत गिरावट आएको व्यवसायीले गुनासो गरेका छन्।
उनीहरुले शुक्रबार पत्रकार सम्मेलन गर्दै महानगरपालिकाले दरबारमार्गको सडकमा हुने सवारी पार्किङ हटाउँदा व्यापारमा ५० प्रतिशत गिरावट आएको गुनासो गरेका हुन्।
पत्रकार सम्मेलनमा दरबारमार्ग विकास बोर्डका अध्यक्ष संजीव तुलाधारले पार्किङ हटाउँदा व्यापारमा ५० प्रतिशत गिरावट आएको र दैनिक कारोबार ५ करोडमा सीमित भएको जानकारी दिए। पार्किङ नहटाउँदा दरबारमार्गमा दैनिक १० देखि १२ करोडको व्यापार हुने गरेको बताइन्छ।
दरबारमार्ग विकास बोर्डका कार्यालय सचिव यज्ञराज पाण्डेले पहिलाको ठाउँमा नै पार्किङ गर्न नदिए वा पार्किङ गर्ने स्थानको टुङ्गो नलगाए आन्दोलन गर्ने चेतावनी दिए।
दरबारमार्गमा पार्किङ हटाउँदा व्यवसायीको व्यापार मात्र नभई सरकारले राजश्वसमेत घट्ने भएकोले वैकल्पिक ठाउँको व्यवस्थापन गर्न व्यवसायीहरुले माग गरेका छन्।
महानगरपालिकाले गत पुस १९ गतेदेखि दरबारमार्गमा पार्किङ गर्न नपाउने व्यवस्था गरेको छ।