काठमाडौं। रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बोलाइएको छ।
बैठक आइतबार दिउँसो केहीबेरमै बस्दैछ। नागरिकता लिएसँगै उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति बनाउने तयारी गरेको छ। आजै निर्वाचन आयोग पुगेर पार्टी सभापति पदमा चयन गरेको जानकारी गराइनेछ।
लामिछानेले नागरिकता पुन लिइसकेपछि अब उनलाई मन्त्री लगायत सार्वजनिक पद लिन बाटो खुलेको छ। नेपालको कानुनले सांसद नभए पनि छ महिनासम्म मन्त्री बन्न सक्ने सुविधा दिएको छ।
लिए नागरिकता
उनले आइतबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि नागरिकता पाएका थिए। यसअघि नेपाली नागरिकता लिएर सो नागरिकता त्यागी अमेरिकी नागरिकता लिएका उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिएका थिएनन्। नेपाली नागरिकताको प्रमाणपत्र नभएरै उनी चुनावसमेत लडेका थिए।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज गरिदिएको थियो।
त्योसँगै उनले उपप्रधान तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाउन पुगेका थिए।
सर्वोच्च अदालतको फैसलापछि शक्रबार बसेको रास्वपा केन्द्रीय समितिको आकस्मिक बैठकलले डोलप्रसाद (डिपी) अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो।
सम्बन्धित समाचारः
रवि लामिछानेको सांसद पद खारेज
यस्तो छ रवि लामिछानेको मुद्दामा सर्वोच्चले सुनाएको फैसलाको पूर्णपाठ
रवि लामिछाने फेरि यसरी बन्न सक्छन् सांसद र मन्त्री
रवि लामिछानेले लिए नेपाली नागरिकता