काठमाडौं। पाकिस्तानको पेशावर शहरको मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने १५० जना भन्दा बढी घाइते भएका छन्।
त्यहाँ उद्दारको क्रम चलिरहेकोले मृतक र घाइतेको संख्या बढ्न सक्ने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
मृत्यु हुनेमा केही प्रहरी पनि रहेका छन्। मस्जिदमा प्रहरीलाई लक्षित गरी विस्फोट गराइएको अनुमान गरिएको छ। मस्जिद एक परिसर भित्र अवस्थित थियो, जसमा प्रान्तीय प्रहरी बलको मुख्यालय र एक आतंकवाद विरोधी विभाग पनि समावेश छ।
सोमबार दिउँसो मस्जिदमा नमाज पढिरहेको बेला विस्फोट भएको बताइएको छ।
घाइतेहरुलाई पेशावरको लेडी रिडिङ अस्पतालमा भर्ना गरिएको छ। लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद असिमले घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताए।
इस्लामावादका आईजीले पेशावरमा भएको विस्फोटपछि उच्च सतर्कता जारी गरेका छन्। महत्वपूर्ण भवन र महत्वपूर्ण स्थानमा स्नाइपर तैनाथ गरिएको छ। नागरिकलाई घरबाहिर निस्कँदा आफ्ना महत्वपूर्ण कागजातहरु साथमा राख्न आग्रह गरिएको छ।
उक्त विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन।