काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटका लागि पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका छन्।
अहिले प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच छलफल भइरहेको छ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज गरिदिएको थियो।
त्योसँगै उनले उपप्रधान तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाउन पुगेका थिए।
लामिछानेले आइतबार नागरिकता लिइसकेका छन्। त्यसपछि उनी र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनिसकेका छन्।
अहिले फेरि गृहमन्त्रालयको नेतृत्वबारे उनले प्रचण्डसँग कुराकानी गरिरहेका छन्। रास्वपाले पुनः गृहमन्त्रीमा दाबी गरे पनि प्रधानमन्त्री प्रचण्डले उक्त मन्त्रालय आफैंसँग राख्न चाहेको विवरणहरु आइरहेका छन्।
यसअघि आइतबार साँझ पनि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए।