काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र लामिछानेबीच भेटवार्ता भएको हो।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज गरिदिएको थियो।
त्योसँगै उनले उपप्रधान तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाउन पुगेका थिए।
लामिछानेले आइतबार नागरिकता लिइसकेका छन्। त्यसपछि उनी र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनिसकेका छन्।
अहिले फेरि गृहमन्त्रालयको नेतृत्वबारे उनले प्रचण्डसँग कुराकानी गरेका छ्न।
रास्वपाले पुनः गृहमन्त्रीमा दाबी गरे पनि प्रधानमन्त्री प्रचण्डले उक्त मन्त्रालय आफैंसँग राख्न चाहेको विवरणहरु आइरहेका छन्।
आजको भेटमा पनि लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग आफ्नो पार्टीको भागमा परेको गृहमा पुनः नियुक्त गर्न आग्रह गरेका छन्। साथै, लामिछानेले मंगलबार साँझसम्म उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त नगरे राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने प्रचण्डलाई चेतावनी दिएका छन्।
जवाफमा प्रचण्डले ठोस जवाफ नदिएको र सल्लाह गर्छौं भनेर टारेको रविको सचिवालयले जनाएको छ।
यसअघि आइतबार साँझ पनि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए।