पोखरा। पोखराको सिमलचौरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनप्रिय बहुमुखी क्याम्पसमा हल्ट प्राइज प्रतियोगिता सञ्चालन हुने भएको छ।
विद्यार्थीहरूको नोबेल पुरस्कार भनेर चिनिने यो कार्यक्रम जनप्रिय क्याम्पसमा तेस्रो पटक आयोजना हुन लागेको हो। यसको लागि जनप्रिय बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी दामोदर भुसाल ‘हल्ट प्राइज’ जनप्रिय क्याम्पस निर्देशक छनोट भइसकेका छन्।
यो पुरस्कार कार्यक्रममा विद्यार्थीहरुलाई सामाजिक मुद्दाहरु जस्तै खाना, सुरक्षा, खानेपानीको उपलब्धता, उर्जा तथा शिक्षासँगै संयुक्त राष्ट्र संघको दिगो विकास, भावी योजनाजस्ता विभिन्न शीर्षकमा रहेका समस्याको समाधान गर्ने चुनौती दिइन्छ र विजेता हुने विद्यार्थीहरुलाई एक मिलियन डलरसहित हल्ट पुरस्कारले सम्मान गरिन्छ।
बेर्टिल हल्टले यो पुरस्कार स्थापना गरेका हुन्। हल्ट प्राइज फाउण्डेशनको सहकार्यमा यो प्रतियोगिता सञ्चालन हुन्छ।
स्वीडेनका अर्बपति बर्टिल हल्टद्धारा स्थापित हर्ट बिजनेश स्कूलका एमबीएहरुको अग्रसरतामा स्थापित यो पुरस्कार विजेता टिमलाई सामाजिक उद्यम सञ्चालनको लागि बीउ पुँजीको रुपमा १० लाख अमेरिकी डलर पुरस्कार दिइन्छ ।
अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनले यो प्रतियोगिताको विश्वले सामना गरिरहेको चुनौंतीको शीर्षक चुन्छन् र हरेक बर्षको सेप्टेम्बर महिनामा यसको विजेता घोषणा गरिन्छ।
विश्वविद्यालयका विद्यार्थीको भीडबाट विश्वले सामना गरिरहेका चुनौंतीको सामना गर्ने उत्कृष्ट विचार लिने अभिप्रायले यो प्रतियोगिता सुरु भएको हो ।
यसको बार्षिक कार्यक्रम अन्तरगत डिसेम्बरदेखि मार्चसम्म विश्वविद्यालयका क्याम्पस कार्यक्रममा सहभागी गराइन्छ। त्यहाँ उत्कृष्ट हुनेलाई अप्रिलदेखि मेसम्म हुने क्षेत्रीय सम्मेलनमा सहभागी गराइन्छ। त्यसमा पनि उत्कृष्ट हुनेलाई जुनदेखि अगष्टसम्म हुने ग्लोबल एक्सिलरेटर सम्मेलनमा सहभागी गराइन्छ।
जनप्रिय क्याम्पसमा आयोजना हुन लागेको हल्ट पुरस्कार प्रतियोगिताको लागि आवेदन छिट्टै नै खुल्ला गरिने उक्त कलेजले बताएको छ। प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थीले ३ देखि ४ जनासम्मको समूह बनाइ सहभागी हुन सक्ने छन्।
सोमबार जनप्रिय बहुमुखी क्याम्पसमा हल्ट प्राईज २०२३ को पहिलो कार्यक्रम दामोदर भुसालको अध्यक्षतामा भएको छ।
पहिलो सेसनको प्रशिक्षक पूर्व हल्ट पोखरा विश्विविद्यालयका क्याम्पस डिरेक्टर आशिष लामिछानेले दिए।
प्रतियोगितामा उत्कृष्ट हुनेलाई सेप्टेम्बरमा हुने ग्लोबल फाइनलमा सहभागी गराइने क्याम्पस डाइरेक्टर दामोदर भुसालले जानकारी दिए।
ग्लोबल फाइनलमा पुगेको टिमले अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आफ्नो व्यवसायको प्रदर्शन प्रस्तुती दिन पाउनेछ।
जनप्रिय बहुमुखी क्याम्पसमा आयोजना हुने हल्ट प्राइजको मिडिया पार्टनर नेपाली पब्लिक डट कम र फेवा मिडिया प्रालि पोखरा रहेका छन्।