काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै निवेदन दर्ता भएको छ।
मंगलबार महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको हो।
नाबालिकालाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर लामिछानेलाई उच्च अदालत पाटनले दिएको आदेश खारेज हुनुपर्ने माग निवेदनमा गरिएको छ। साथै, पुनरावलोकन निवेदनमा सन्दीपलाई थुनामै राख्नुपर्ने मागदाबी गरिएको छ।
एक किशोरीले बलात्कारको उजुरी दिएपछि २० असोजमा सन्दीप पक्राउ परेका थिए।
१८ कात्तिकमा लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध लामिछानेले दिएको निवेदनमा पुस २९ गते सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले शर्तसहित २० लाख धरौटी रिहा गर्ने आदेश दिएको थियो।
सम्बन्धित समाचारः सन्दीप लामिछाने धरौटीमा रिहा