काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को टोलीबीच महोत्सव तयारीका सम्बन्धमा छलफल भएको छ।
निफ–२०२३ आगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म आयोजना हुने घोषणा भइसकेको छ।
निफ–२०२३ लाई सफल पार्न महानगरले सक्दो सहयोग गर्ने मेयर साहले प्रतिवद्धता जनाएको भेटघाटमा सहभागी अध्यक्ष केपी पाठकले बताए।
अध्यक्ष पाठकले निफ–२०२३ को हालसम्मको तयारी र महोत्सवको मोडेलका सम्बन्धमा मेयर साहलाई जानकारी गराएका थिए। अध्यक्ष पाठकका अनुसार मेयर साहले क्षमताले भ्याएसम्म निफ–२०२३ लाई सहयोग गर्छु भनेका छन्।
त्यसैगरी प्रमुख सल्लाहकार निर शाहले पनि मेयर साहलाई निफको महत्व बुझाएका थिए।
कलाकार संघकी वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेतीले निफ २०२३ को आयोजनामा महानगरको हातेमालो आवश्यक रहेकोमा जोड दिइन्।
भेटघाटमा निफ–२०२३ का संयोजक यादव भट्टरार्ई, निर्देशक तथा निफ–२०२३ का पिआर प्रमुख ऋषि लामिछाने, अभिनेत्री सरिता गिरी, सञ्चारकर्मी सन्ध्या थापा, कपिल भण्डारी तथा कमल प्रसाद शर्मा समेतको सहभागिता थियो
निफ–२०२३ मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिने आयोजक समितिले जनाएको छ।