काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन्।
उनले आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले भनेका छन्।
उनले लेखेका छन्, ‘ अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’
पछिल्लो समय गृह मन्त्रालयलाई लिएर गठबन्धन संकटमा परेको चर्चा भइरहेको छ।
प्रधानमन्त्री प्रचण्ड गृह मन्त्रालय आफैंसँग राख्ने प्रयासमा छन् भने रास्वपका सभापति रवि लामिछाने फेरि गृहमन्त्री बन्ने चाहना गरिरहेका छन्। यसअघि लामिछानले गृह मन्त्रालय नपाएर सरकार छाड्ने चेतावनी दिएका थिए।
लामिछानेलाई एमाले अध्यक्ष केपी ओलीले पनि साथ दिइरहेका थिए।
गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज गरेसँगै उनले उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाउन पुगेका थिए।
आइतबार नयाँ नागरिकता लिएपछि लामिछाने पार्टीको सभापति बनिसकेका छन् भने गृह मन्त्रालयका लागि दौडधुप गरिरहेका छन्।