काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अहिले जारी छ।
उक्त दलको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालय बसुन्धारामा बिहीबार अपराह्न साढे ४ बजेदेखि जारी छ।
बैठकमा सरकारमा बस्ने कि नबस्नेबारे निर्णय हुने बताइएको छ। उक्त बैठकलाई निर्णायक भनिएको छ र धेरैले चासो साथ हेरिरहेका छन्।
यसअघि उक्त पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको र आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न भनेका थिए।
संकटमा गठबन्धन
पछिल्लो समय गृह मन्त्रालयलाई लिएर गठबन्धन संकटमा परेको चर्चा भइरहेको छ।
प्रधानमन्त्री प्रचण्ड गृह मन्त्रालय आफैंसँग राख्ने प्रयासमा छन् भने रास्वपका सभापति रवि लामिछाने फेरि गृहमन्त्री बन्ने चाहना गरिरहेका छन्। यसअघि लामिछानले गृह मन्त्रालय नपाएर सरकार छाड्ने चेतावनी दिएका थिए।
लामिछानेलाई एमाले अध्यक्ष केपी ओलीले पनि साथ दिइरहेका थिए।
गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज गरेसँगै उनले उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाउन पुगेका थिए।
आइतबार नयाँ नागरिकता लिएपछि लामिछाने पार्टीको सभापति बनिसकेका छन् भने गृह मन्त्रालयका लागि दौडधुप गरिरहेका छन्।