धनगढी । बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद (प्रतिनिधि सभा सदस्य) अरुण चौधरीलाई प्रहरीले आज (शुक्रबार) अदालतमा उपस्थित गराउने तयारी गरेको छ।
सार्वजनिक सम्पत्ति (ट्र्याक्टर)मा आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएको देखिएका नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो।
उनलाई बिहीबार बाँकेबाट विमानमार्फत् काठमाडौं ल्याएर काठमाडौंबाट विमानमार्फत् नै धनगढी पुर्याइएको थियो। बिहीबार चौधरी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहे।
जिल्ला प्रहरी कार्यालय कैलालीले चौधरीलाई आज कैलाली जिल्ला अदालतमा उपस्थित गराइने जनाएको छ। कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी २०६७ सालमै दोषी ठहर भएका थिए। उनी लगायत ३ जनालाई कैलाली जिल्ला अदालतले बिगोसहित ६ महिना कैदको फैसला सुनाएको थियो।
यता नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद अरुण चौधरीको रिहाइ माग गर्दै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ। पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउको भर्त्सना गरेका छन्।
थरुहट आन्दोलनकारी र सरकारबीच ३ भदौ २०६६ मा सबै प्रकारका मुद्दा खारेज गर्ने सम्झौता भएको स्मरण गराउँदै नागरिक उन्मुक्तिले त्यसयता सबै निर्वाचनमा उनी लड्दै आएको बताएको छ।
सम्बन्धित समाचार :- नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी पक्राउ
पक्राउ परेका चौधरी जेल नबसी सजाय भुक्तान गर्न सक्ने
सांसद अरुण चौधरीको रिहाइ माग गर्दै नागरिक उन्मुक्तिको २४ घन्टे अल्टिमेटम
सांसद चौधरीलाई धनगढी ल्याइयो