धनगढी । कैलालीको धनगढीमा विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सातौँ संस्करण सुरु भएको छ ।
शनिवार प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता सत्यवती एकेडेमी विजयी भएको छ । लोटस आइ इङ्लिस सेकेन्डरी स्कुल अत्तरियालाई २८ रनले पराजित गर्दै सत्यवतीले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सत्यवतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । १ सय २७ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको लोटस आइले १.३ ओभरमा सबै विकेट गुमाएर ९८ रन मात्रै बनाउन सक्यो । लोटस आइलाई आयुब चन्दले २३, प्रेम शाहले २२ र सुरेश रावलले १० रनको योगदान दिए । कसिलो बलिङ गरेका सत्यवतीका जीत साउदले ४ ओभरमा १७ रन खर्चिए महत्त्वपूर्ण ४ विकेट लिए । अभिषेक कोइराला र प्रतिक श्रेष्ठले समान २र२ विकेट लिए ।
पहिलो पारीमा सत्यवतीका लागि गौतम केसीले अविजित ४८ र प्रतिक श्रेष्ठले २५ रन बनाए । बलिङ तथा ब्याटिङ दुवै तर्फ खराब प्रदर्शन गर्दा लोटस आई पहिलो खेलमै पराजित हुनुपरेको हो ।
लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आइतबार उत्रिएको गुराँस एकेडेमी र धनगढीको वेष्टन क्रिष्टल एकेडेमी प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा लिटल फ्लावर र कञ्चनपुरको होली फेमली इङ्लिस मिडियम स्कुल भिड्ने छन् ।
त्यस अघि सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले प्रतियोगिताको एक समारोहका बिच उद्घाटन गरेका हुन् ।फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।