काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ।
आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको संसदीय दलको कार्यसमितिको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हो।
राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालले उम्मेदवारी दिँदैछन्। उनी माओवादीकी हुन्।
कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो। तर, यसअघि एमालेको भागमा परेको सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको उपसभामुखमा पदको निर्वाचनमा भने कांग्रेसले उम्मेदवारी दिएको थियो।
तर, माओवादीकी अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा समर्थन गर्दै कांग्रेसले उम्मेदवारी नदिने भएको हो।
कांग्रेसले राष्ट्रपति उम्मेदवारमा साथ पाउने अपेक्षासहित माओवादीलाई सहयोग गरिरहेको छ।
कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेपछि अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनेछन्।
संघीय संसद सचिवालयका अनुसार अपरान्ह दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।