चिली। चिलीको दक्षिणी मध्य भागमा अत्यधिक गर्मीबीच जङ्गलमा डढेला लाग्दा कम्तीमा २३ जनाको मृत्यु भएको छ।
उपगृहमन्त्री म्यानुअल मोन्साल्वेले डढेलोमा २३ जनाको मृत्यु भएको र कम्तीमा ९७९ जना घाइते भएको जानकारी दिए।
मोन्साल्वेका अनुसार शनिबार पनि २३२ स्थानमा डढेलो सक्रिय रहेको थियो। जसमध्ये १६ स्थानको डढेलो अझै निभाउन सकिएको छैन।
राष्ट्रपति गेब्रियल बोरिकको सरकारले अरौकानियाको दक्षिणी क्षेत्रलाई समावेश गरी ‘सङ्कटकालीन अवस्था’ को विस्तार गरेको छ। नुबल र बायोबियोका क्षेत्रहरूलाई प्राकृतिक विपद् क्षेत्रका रूपमा हेर्ने गरिएको छ। ‘मृतकहरूको संख्या बढ्दै गइरहेको यस अवस्थामा सङ्कटकालीन अवस्था’ को विस्तारले बोरिकलाई आगोसँग जुध्न सेना परिचालनका लागि मार्गप्रशस्त भएको छ।
डढेलो क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) सम्म पुगेको कारण डढेलो नियन्त्रणगर्ने प्रयासमा बाधा पुगेको अधिकारीहरूले बताएका छन्।
राजधानी सान्टियागोबाट ५१० किलोमिटर दक्षिणमा रहेको कन्सेपियन शहरमा जानका लागि बिदा स्थगन गरेका बोरिकले ट्वीट गर्दै जंगलमा लागेको डढेलोसँग जुध्न र परिवारलाई सहयोग गर्न आफू निरन्तर लागिरहने बताएका छन्।
बोरिकका अनुसार अर्जेन्टिनाले अग्निनियन्त्रक र उपकरण पठाउने प्रस्ताव गरेको छ। ब्राजिल, उरुग्वे, मेक्सिको र स्पेनले पनि सहयोगको प्रस्ताव गरेको गृहमन्त्री क्यारोलिना तोहाले जानकारी दिए।
डढेलोका कारण कम्तीमा ८८ घर जलेर नष्ट हुनुका साथै ४७ हजार हेक्टर वन क्षेत्र जलेको अधिकारीहरुले बताएका छन्।
यस क्षेत्रमा करिब दुई हजार ३०० अग्निनियन्त्रक र ७५ वटा विमान तैनाथ गरिएको छ।
गर्मीका कारण सन् २०१७ मा पनि यस्तै घटना भएको थियो र उक्त घटना दोहोरिने डर पैदा भएको छ। सन् २०१७ मा उक्त क्षेत्रमा लागेको डढेलोमा परी ११ जनाको मृत्यु हुनुका साथै एक हजार ५०० घर जलेका थिए। एजेन्सी