काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका नेता एवम् पूर्वसांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउन आदेश दिएको छ।
नेता चौधरीले आफूविरुद्ध जन्मकैदको फौसला खारेज हुनुपर्ने माग राखेर सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।
उक्त मुद्दाको आइतबार न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले सुनुवाइ गर्दै प्रत्यर्थी झिकाउने आदेश दिएको हो।
सर्वोच्चको प्रत्यर्थी झिकाउने आदेशसँगै यस मुद्दामा अब पुनः बहस तथा सुनुवाइ हुने र मिसिलको अध्ययनसँगै प्रमाणको मूल्याङ्कन गर्ने काम हुनेछ।
विसं २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा आन्दोलनकारी र प्रहरीबीचच झडप हुँदा प्रहरी बरिष्ठ उपरीक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका पाँच जना तथा सशस्त्रका दुई र एक बालकसहित आठ जनाको मृत्यु भएको थियो।
टीकापुर घटनामा जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले मुख्य अभियुक्त भनिएका रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो।