सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।
बर्दघाट नगरपालिका–४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको शनिवार अस्ति मिर्गौला प्रत्यारोपण गरिएको हो । कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा भएपश्चात् शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र अस्पताल निर्देशक डा.डम्बर खड्का नेतृत्वको संयुक्त टोलीले प्रत्यारोपण कार्य सम्पन्न गरेको हो ।
थापालाई उहाँकी ४३ वर्षीया आमाले मिर्गौला दान गरे । प्रत्यारोपण कार्यमा काठमाण्डौ उपत्यका बाहिर सरकारी अस्पतालमा दोस्रो पटक र कर्णालीमा पहिलो पटक निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. खड्काले जानकारी दिए । उनका अनुसार प्रदेश अस्पतालले अनुमति पाएको तीन महिनापछि सफल मिर्गौला प्रत्यारोपण भएको छ ।
शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा। श्रेष्ठ र कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.खड्काले प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि २०७८ साल चैत १० गते सम्झौता गरेका थिए । केन्द्रबाट डा. रविकिरण गौतम, डाक्टर हरि बराल, एनेस्थेसियोलोजिस्ट डा. सोभित थापा, रश्मित श्रेष्ठ, नेफ्रोलोजिस्ट डा. सुमित आचार्य, डा. दीपा लामिछाने र रेडियोलोजिस्ट डा. समीर दवाडी संलग्न थिए।
त्यस्तै, सुर्खेत अस्पतालबाट डा. पूजन बल्ल, डा. जनी बज्राचार्य, फिजिसियन डा. कुलराज शाही, ओटी इन्चार्ज प्रभा रावल तथा ओटी र आईसीयूमा कार्यरत नर्स प्रयोगशालाका इन्चार्ज भरत देवकोटालगायत कर्मचारीहरूको टोली मिर्गौला प्रत्यारोपण कार्यमा संलग्न भएको थियो ।
प्रत्यारोपण सेवालाई नियमित सञ्चालन प्रदेश अस्पतालको आउँदो योजना रहेको छ । यसका लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गर्न उच्चस्तरको तालिमका लागि केन्द्रमा पठाउने निर्देशक डा. डम्बर खड्काले जनाए । प्रत्यारोपण केन्द्रमा अहिलेसम्म एक हजार ११ जनाको मिर्गौला र नौजनाको कलेजो प्रत्यारोपण गरिएको कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।
मिर्गौला प्रत्यारोपण निःशुल्क भएको र कुनै पनि शुल्क तिर्नु नपरेको मोतिबहादुरका बुबा तुलबहादुर थापाले बताए ।