काठमाडौँ । विद्यार्थी आफैंले एनओसी प्रिन्ट गर्न सक्ने गरी निर्देशिका आउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा उच्च शिक्षा हासिल गर्न वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्ने सवालमा अब विद्यार्थीले सही कागजात अनलाइनमा अपलोड गरे आफ्नो एनओसी आफैं प्रिन्ट गर्न सक्ने निर्देशिका जारी गर्ने तयारी गरिरहेको छ।
मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले वैदेशिक अध्ययन अनुमतिसम्बन्धी सेवा प्रवाहलाई मर्यादित, व्यवस्थित र प्रविधिमैत्री बनाउनका निमित्त वैदेशिक अध्ययन स्वीकृति व्यवस्थापन निर्देशिका,२०७९ जारी गर्ने तयारी गरेको छ।
शाखाका प्रमुख वासुदेव वस्तीले निर्देशिका तयार गरी स्वीकृतिका लागि मन्त्रालयको उच्च शिक्षा महाशाखामा पेस गरिसकेको बताए। उनका अनुसार निर्देशिका जारी भए अब विद्यार्थीले एनओसी लिन मन्त्रालय धाइराख्नुपर्ने व्यवस्था अन्त्य हुने छ। एनओसी शाखा पूर्णरूपमा अनलाइनमा आधारित गर्न मन्त्रालयले निर्देशिका जारी गर्न लागेको उनको ठहर छ।
उनले राणाकालीन समयमा नेपालभित्रकै एक स्थानबाट अर्को स्थानमा जान इजाजत पत्रको व्यवस्था भएजस्तै छात्रवृत्तिसम्बन्धी ऐन २०२१ ले पहिलोपटक विदेशमा अध्ययन गर्ने विद्यार्थीका लागि अनिवार्य एनओसी लिने व्यवस्था गरेको बताउँदै यस वर्षदेखि विद्यार्थीले पनि आफ्नो एनओसी आफैं प्रिन्ट गरी लिन सक्ने नयाँ व्यवस्था हुने जनाए।