गीतकार सुवासचन्द्र ढुङ्गेल (२०१७) नेपाली आधुनिक गीतका प्रसिद्ध गीतकार हुन्। उनको पहिलो रेकर्डेड गीत श्रीलङ्काकी गायिका सुजाताद्वारा गाइएको ‘नसोध मलाई मेरा आफ्नाहरू’ (२०३६) बोलमा रहेको थियो भने नेपालमा रेकर्डेड पहिलो गीत चाहिँ ‘चिता बनाई जलाई देऊ’ (२०३८) धनञ्जय थापाको सङ्गीत र तारा थापाको स्वरमा रहेको छ। उनका गीत रचनामा ‘चोट के हो व्यथा के हो’ (२०४५), ‘आजका युवा’ (२०४७), ‘सुवास’ (२०६२) तथा ‘गीतिका’ (२०७५) जस्ता गीति एल्बमहरू र ‘भाँचिएको मन’ (२०६४) गीत सङ्ग्रह प्रकाशित छन्। यसरी नै मुक्तक सङ्ग्रह ‘अक्षरका गोलीहरू’ (२०७२) प्रकाशित छ। अत्यन्त संयमित र अन्तर्मुखी स्वभावका हृदयस्पर्शी, सरल र सुललित गीतकारको परिचयबाट स्थापित उनी पछिल्लो समय राजनीतिक तथा सामाजिक–सांस्कृतिक विसङ्गतिका विरुद्ध मुक्तकमार्फत आन्दोलन नै गरिरहेका छन्। लेखन र बोली व्यवहार दुवैतिर अत्यन्त संयमित र सरल व्यक्तित्व बनाएका ढुङ्गेलले आत्मकथा लेखनलाई पनि अन्तिम रूप दिँदैछन्। वियोगान्तका सफल गीतकारका रूपमा इतिहास बनाएका ढुङ्गेल छिन्नलता गीत पुरस्कार (२०६९)बाट सम्मानित गीतकार हुन्। हाल विश्वविद्यालय अनुदान आयोगमा प्रमुख प्रशासकीय अधिकृतको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका साहित्य सर्जक ढुङ्गेलसँग नेपाली पब्लिकका लागि डा. गीता त्रिपाठीले गरेको कुराकानी:
नेपाली गीतमा वियोगान्त गीतको उचाइ थप्ने यहाँका गीतहरू श्रोताले अत्यधिक रुचाएका छन्। तपाईंलाई आफ्ना गीतको कुन पक्षले सन्तुष्टि दिएको छ?
–कुनै पनि कलाकारको कला सृजनामा आफ्नो मन पर्ने विशिष्ट पाटो हुन्छ। म पनि गीतभित्र, अझ वियोगान्त गीतहरूमा बढी सन्तुष्टि पाउँछु तर म सबै प्रकारका गीत लेख्छु। हुन त चोट खाएकाले चोटका गीतहरू कालजयी भएका भन्नेहरू पनि छन्, त्यो पनि हुनसक्छ तर त्यति मात्रै भने पक्कै होइन। मायामा सफल भएकाहरूलाई तपाईंका रोमान्टिक गीत त्यसकारणले उत्कृष्ट भएका भनेर त कसैले भन्दैनन्। जे होस्, मैले लेख्दा विरहलाई जति सशक्त ढङ्गले कागजमा उतार्न सक्छु, अन्य विषयलाई सायद सक्तिनँ। श्रोताका प्रतिक्रियापछि म आफ्नो गीत रचनाका विषयमा यत्ति भन्न सक्ने भएको हुँ।
गीत लेखनलाई गहन र हलुका दुवै हिसाबले हेरिन्छ, गीत रचनाको वास्तविकता चाहिँ के हो?
–जो गीत लेख्दैनन्, गीतलाई रातमा निद्रा नपर्दा सुनेर निदाउने अभ्यासमा छैनन्, तिनले मात्र हल्का ढङ्गले लिएजस्तो लाग्छ मलाई। संसारमा मान्छेको मनभित्र सजिलै प्रवेश पाउने कुरो भनेको गीत नै हो। भनिन्छ, सबै गीत कविता हुन् तर सबै कविता गीत होइनन्। यस अर्थमा गीत कविता हो भने गीत लेखनलाई हल्का रूपमा लिनु अबुझपन हो। कुनै बेला गीतकारहरू आम जनताले सहजै बुझ्ने हिसाबले लेख्दा हल्का जस्ता गीतहरू सुनिन्छन् तर त्यसलाई सामान्यीकरण गर्न मिल्दैन।
जुन बेला तपाईंले गीत लेख्न आरम्भ गर्नुभयो, त्यस समयका गीतलाई आज लेखिइरहेका गीतसँग तुलना गर्दा तपाईंलाई कस्तो फरकपन महसूस हुन्छ?
–गीत लेखाइ उस्तै हो तर गीत तयार हुने प्रक्रिया र श्रोतासम्म पुग्ने माध्यममा फरक आएको मात्र हो। मैले रचेको ‘जति चोट...(पुरानो)’ र ‘मन विना बाँच्न पाए हुन्थ्यो (नयाँ)’ गीतमा उत्तिकै मेहनत गरेको छु, उत्तिकै राम्रा छन् तर पुरानो गीत, जुन त्यस जमानामा एक पटक बज्दा सबै नेपालीले सुन्थे, अहिले बज्दा १ प्रतिशत नेपालीले पनि सुन्दैनन्।
वास्तवमा मनोरञ्जनका अन्य साधनको बढी उपलब्धता र धेरै रेडियो टेलिभिजनका कारण आजका गीत चर्चित हुन गाह्रो छ अथवा आजका गीतले धेरै श्रोता पाउन कठिन भएको छ। म व्यावसायिक हिसाबले गीत नलेख्ने गीतकार भएकाले यस प्रश्नको जवाफ मेरो र अन्य गीतकारहरूका फरक हुन सक्छन्।
आखिर श्रोता–दर्शकको मनभित्र साहित्यको माध्यमबाट प्रवेश गर्न सके सन्तुष्टि मिल्दोरहेछ। यसले आगामी लेखनीका लागि ऊर्जासमेत प्रदान गर्दोरहेछ।
लामो समयपछि लघुकथा र मुक्तक सङ्ग्रह लिएर पाठकमाझ आउनुभएको छ, गीतबाट अन्य विधामा प्रवेश गर्दा पाठकले आफूलाई कुन विधाबाट बढी रुचाएको पाउनुभएको छ?
–म गीतकार हुँ, गीतकारकै रूपमा चिनिन चाहन्छु तर मुक्तक पनि साह्रै सशक्त विधा रहेछ, मलाई मुक्तकले हिजोआज धेरै सम्मोहन गर्दैछ। तत्काल श्रोता–दर्शकको प्रतिक्रिया प्राप्त हुने मुक्तक विधा गीत लेखनको लघु रूप जस्तो लाग्छ मलाई। मैले एकल मुक्तक वाचनको श्रृङ्खला पनि शुरु गरेको छु। यसलाई निरन्तरता दिने र देश–विदेशमा पुर्याउने विचार छ। हुनसक्छ, भोलि मलाई गीतकार भन्दा मुक्तककारका रूपमा पाठक–श्रोताले बढी मन पराउने पो हुन् कि! त्यसो भएमा पनि मलाई आश्चर्य लाग्ने छैन।
राजनीतिक स्थिरतापछि चारैतिर नेपाली साहित्यको अबको विषय के हुने भन्ने प्रश्न उठाइँदै छ, तपाईंलाई अबको साहित्यको विषय के हुनुपर्छ जस्तो लाग्छ?
–अबको विषय विकृति, विसङ्गति र समस्याहरू हुनपर्दछ तर त्यति नै मात्रै विषयवस्तुले टुङ्गिनु हुँदैन, समाधानका उपायहरू पनि लेखनीमा आउनुपर्छ। सबै लेखकले मुद्दाहरू मात्र उजागर गर्ने हो भने मुद्दा कसरी समाधान गर्ने भन्ने विषयमा कसले बोल्ने? मेरो दोस्रो मुक्तक सङ्ग्रह प्रकाशन हुने क्रममा छ र तेस्रो मुक्तक सङ्ग्रहका लागि अहिले लेखिरहेको सन्दर्भमा भने तपाईंको उक्त प्रश्नको जवाफ आउने तरिकाले लेख्दैछु। एउटा मुक्तकमा मुद्दाहरूको उठान र दोस्रोमा त्यस मुद्दाको निराकरणका विषय। विषयवस्तु, उपरोक्त हुनुपर्नुका कारण ‘स्थिरता’ जोडघटाउमा मात्र देखियो, व्यवहारमा आम जनताले महसूस गर्न पाएका छैनन्।
समकालीन समालोचनाका विषयमा धेरै थरीका कुरा उठिरहेका सुनिन्छन्, वास्तवमा समकालीन समालोचनाको चुनौती र सम्भावनाबारे एउटा सर्जकको तर्फबाट तपाईंको धारणा के छ?
–समालोचना गर्ने समालोचकहरू गुण र दोषलाई राम्ररी पहिचान गरेर खरो उत्रनुपर्ने कठोर मन भएका व्यक्ति हुनुपर्दछ तर अधिकांश समालोचक त्यस्ता छैनन्। समालोचना आफ्नालाई लेखाउने, गुणहरू मात्र बयान गर्ने, दोषहरूलाई ओझेलमा पार्ने प्रवृत्ति बढेको छ, जसले साहित्यलाई सही मार्गतर्फ उन्मुख गरेको छैन। लेखकहरूमा आफ्नो कमजोरी बताइदिने मान्छे असल समालोचक हुन् भन्ने गुदी कुरा बुझाउनै सकिएको छैन र समालोचकहरू पनि मनले भनेका कुरा नलेखी कलमले भनेका कुरा लेखेर आफैलाई ढाँटिरहेछन् र लेखकहरूलाई खुसी पार्दै सस्तो लोकप्रियतामा रमाइरहेछन्, यो शतप्रतिशत गलत हो।
हिजोआज अधिकांश समालोचक समालोचक जस्ता छैनन् तर केही अत्यन्त जिम्मेवार समालोचक पनि छन्। यति भनिएन भने चाहिँ राम्रा समालोचना लेखिरहेकाप्रति अन्याय हुनजान्छ। समालोचनालाई ‘वाद’ले पनि प्रभाव पारेको देख्छु। लेखक र समालोचकको ‘वाद’ नमिल्दा पनि फरक परेको छ।
अहिले मुक्तकमार्फत श्रोताबीच प्रत्यक्ष पुगिरहनुभएको छ, कस्तो लाग्छ ‘दर्शक श्रोताका ताली’ र ‘वान्स मोर’ले एउटा कविलाई कुन हदसम्मको मानसिक सन्तुष्टि दिँदो रहेछ?
–सन्तुष्टि, जुन आत्मासम्म पुग्ने हुन्छ, त्यसलाई खास अर्थमा सन्तुष्टि मान्छु म र एउटा राम्रो गीत विद्युतीय सञ्चारमाध्यमबाट बज्दा जति सन्तुष्टि हुन्थ्यो, त्यस्तै सन्तुष्टि प्राप्त हुँदैछ मुक्तक लेखन र वाचनपछि। आखिर श्रोता–दर्शकको मनभित्र साहित्यको माध्यमबाट प्रवेश गर्न सके सन्तुष्टि मिल्दोरहेछ। यसले आगामी लेखनीका लागि ऊर्जासमेत प्रदान गर्दोरहेछ।
कतिपय विषयलाई समयले, ज्युँदा व्यक्तिहरूले पुष्ट्याइ गर्छन् आत्मकथामा तर बितिसकेका मान्छेमाथि ‘म्यानुपुलेसन’ गरेर किताबलाई ‘गहन’ बनाउन आत्मकथाका रचनाकारहरू लागिपर्छन्। यहीँ ती चुकिरहेका हुन्छन्।
आजका पाठकहरू फिक्सनभन्दा फिक्सनल यथार्थ भोगेका लेखकका हृदयको आवाज सुन्न उत्सुक छन्। तपाईंले लेखिरहनुभएको आत्मकथा अहिले साहित्यका पाठकका लागि कुतूहलपूर्ण पर्खाइ भएको छ, एउटा आत्मकथामा के के कुरा आउनु आवश्यक छ भन्ने लाग्छ तपाईंलाई?
–आत्मकथामा सबैभन्दा पहिलो कुरो लेखक इमानदार हुनुपर्छ। आफ्ना कमजोरी लुकाएर आफूलाई भगवानका रूपमा प्रस्तुत गर्न खोज्नेले आत्मकथा नलेखे नि हुन्छ। सबैलाई आआफ्नो आत्मकथा उत्कृष्ट लाग्छ तर यसमा के लेख्ने भन्दा पनि कसरी लेख्ने भन्ने कुराले महत्त्व राख्दछ। आत्मकथामा इमानदारीपूर्वक आफ्ना जिन्दगीलाई किताबमा प्रस्तुत गर्नुपर्छ, जुन किताब पढ्दा अरूका लागि प्रेरणा बनोस्! कतिपय विषयलाई समयले, ज्युँदा व्यक्तिहरूले पुष्ट्याइ गर्छन् आत्मकथामा तर बितिसकेका मान्छेमाथि ‘म्यानुपुलेसन’ गरेर किताबलाई ‘गहन’ बनाउन आत्मकथाका रचनाकारहरू लागिपर्छन्। यहीँ ती चुकिरहेका हुन्छन्।
राजनीतिले चारैतिर देशलाई निल्यो भनिएको सुनिन्छ, कलाको उत्थानमा राजनीतिको भूमिका कस्तो रहेको पाउनुहुन्छ?
–राजनीतिज्ञहरू कलाकार–साहित्यकारलाई देशका गहना मान्न तयार छैनन्, उनीहरूले त्यो कुरो बुझेकै छैनन्। यो कुरो उनीहरूको मनमा नछिरेसम्म राजनीतिज्ञ र कलाकार–साहित्यकार चील र चल्लाकै रूपमा रहनेछन् देशमा। यसमा कवि–कलाकारको पनि दोष छ, राजनीतिज्ञहरूलाई बाटो देखाउनुपर्नेमा आफैँ राजनीतिज्ञका पछि लाग्छन्। दलले आफ्नो पार्टीका साहित्यकारलाई ‘प्राज्ञ’ बनाउँछ, त्यसमा मेरो गुनासो पटक्कै होइन तर पार्टीका साहित्यकारहरूमध्ये पनि आफ्ना ‘आठपहरिया’हरूलाई मात्र प्राज्ञ बनाउँछ (केही अपवादबाहेक) भने त्यो मेरो गुनासो हो। दलका कार्यकर्ता पनि असल छानेर बनाए, नियुक्ति गरे हुन्थ्यो नि! त्यसो नभएर पनि नेपाली कला–साहित्य विश्व परिवेशमा जति विस्तारित हुनुपर्ने, जुन उचाइमा पुग्नुपर्ने सायद यस्तै प्रवृत्तिहरूले पुग्न नसकेको पो हो कि! कलाको उत्थानमा राजनीतिको वचनमा साह्रै सकारात्मक भूमिका छ, व्यवहारमा ठ्याक्कै उल्टो छ।
तपाईंले मुक्तकमार्फत सिर्जना गरेको कलात्मक र विषयगत सौन्दर्य मौलिक लाग्छन्, मुक्तक रचनाप्रति तपाईको मान्यता के हो?
–म मुक्तक लेखनलाई साह्रै गहन विधा मान्छु। यसमा पाठक–श्रोताले धेरै शब्दहरू प्रयोग गरी धेरै सन्देश दिनेभन्दा थोरै शब्दहरू प्रयोग गरी गहन सन्देशको आश गर्छन्। म लेखनमा भन्दा प्रस्तुतिमा सफल हुने विधाका रूपमा मुक्तकलाई लिन्छु। मेरो मुक्तक लेखनको मान्यता पनि विकृति, विसङ्गति या जुनसुकै विषयवस्तु होस् श्रोता–पाठकलाई छुने गरी लेखिनु–प्रस्तुत गरिनुपर्छ अन्यथा गोली हान्दा ताकेको ठाउँमा नलागेमा अर्थहीन भएझैँ मुक्तक पनि अर्थहीन हुन्छ। अतः निष्कर्षमा भन्नुपर्दा मेरो मुक्तक लेखनको मान्यता बाटो बिराउनेहरू माथिको प्रहार हो, जसमा कतिपय अवस्थामा सही बाटो देखाउने काम हुन्छ भने कतिपय अवस्थामा चोट खाएपछि ऊ आफैँ मेरो बाटो गलत रहेछ भनेर सही बाटो खोज्न थाल्छ, त्यो शैली पनि मैले प्रयोग गरेको छु।