धनगढी। सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ।
आज बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो। अर्को बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची थियो। मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि बैठक स्थगित गरिएको बुझिएको छ।
सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरिसकेको छ। यो निर्णयसँगै सुदूरपश्चिम सरकार संकटमा परेको छ। सो पार्टीले टीकापुर घटनाका बन्दी रिहाइको माग गर्दै आएको छ।
प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। ५३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन। मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ।
रावलको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले आजसम्म पूर्णता पाउन सकेको छैन। बिनाविभागीय मन्त्री खगराज भट्ट र सन्तोषी थापा शर्माको मन्त्रालय पनि तोकिएको छैन।
प्रदेशसभामा सत्तापक्षीय नेकपा (एमाले)का १०, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका एक सदस्य छन्। विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र एक स्वतन्त्र सदस्य छन्।