काठमाडौं। पर्फेक्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक भागेका छन्।
बचतकर्ताको करिब ५० करोड रुपैयाँ हिनामिना गरेर पर्फेक्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक भागेका हुन्।
हाल उक्त सहकारीका अध्यक्षदेखि सिइओ रमेश घिमिरेले कोही पनि सम्पर्कमा छैनन्।
पर्फेक्ट सहकारीले महंगो ब्याज दिने भन्दै ग्राहकबाट पैसा उठाएको थियो। तर, ग्राहकहरु आफ्नो बचत लिन जाँदा दिन नसकेपछि सहकारीका सञ्चालक भागेका हुन्।
पर्फेक्ट सहकारीले ठगी गरेको भन्दै उजुरी परेपछि हाल उक्त विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
महानगरीय बृत कालीमाटीले प्रहरी निरीक्षक बसन्त आचार्यलाई अनुसन्धान अधिकृत तोक्दै पर्फेक्ट सहकारीको ठगीबारे अनुसन्धान गरिरहेको छ।
अनुसन्धानको लागि महानगरीय बृत कालीमाटीले सहकारीबारे जानकारी उपलब्ध गराउन दिन काठमाडौं महानगरको सहकारी विभागसँग सहयोग माग गरेको छ।
प्रहरीले सहकारीका बचतकर्ताको नामावली र बचत विवरण, सहकारीको ऋण, धितो, चल अचल सम्पति, लगानी विवरण, साधारण तथा विशेष सभाका निर्णय, बैठक खाता विवरण, सञ्चालक समितिका सदस्यको नामावली र नागरिकता, लेखा परीक्षण प्रतिवेदन महानगरको सहकारी विभागसँग माग गरेको छ।
काठमाडौं महानगरको सहकारी विभाग स्रोतका अनुसार उक्त सहकारीले बचतकर्ताको करिब ५० करोड रुपैयाँ हिनामिन गरेको छ।
यसअघि उक्त सहकारीले विभिन्न बहानामा बचतकर्तालाई ठगी गर्ने गरेको, महंगो ब्याज दिने भन्दै पैसा उठाएर समयमा तिर्न नसकेको तथा फिर्ता नगरेको गुनासो आएका थिए।
त्यसपछि नेपाली पब्लिकले पर्फेक्ट सहकारीले कानून विपरित बचतकर्ताबाट रकम असुल्दै गरेको खुलासासहितको समाचार प्रकाशन गरेको थियो।
सम्बन्धित समाचारः
पर्फेक्ट सहकारीको ठगी धन्दा–१ : कानून विपरित बचतकर्ताबाट रकम असुल्दै
पर्फेक्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले काठमाडौंको न्यूरोड, बौद्व र टेकुमा कार्यालय खोलेको थियो।