काठमाडौं। नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ।
यही फागुन २ देखि ४ गतेसम्म हुने महाधिवशेनको तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिइन्।
सात वर्षपछि महाधिवेशन हुन लागेको हो। यसअघि २०७२ माघमा भएको महाधिवेशन तत्कालीन नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता भएपछि हुनसकेको थिएन।
‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील सङ्गठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराका साथ काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा हुन महाधिवेशन हुदैँछ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने अनेरास्ववियुका अध्यक्ष बरालले जानकारी दिइन्।
आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी तथा अनुशासन, लेखा र निर्वाचन गरी तीन आयोग निर्वाचित हुनेछन्। महाविधेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी हुँदैछन्।
नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झविन्द्र खत्री र महासचिव समिक वडाल रहेका छन्।
निर्वाचन प्रक्रियालाई व्यवस्थित, छिटोछरितो बनाउन विद्युतीय मेसिनमार्फत निर्वाचन गर्ने व्यवस्था गरिएको छ।